कृषिराज्यमन्त्री करिमा बेगमको कुटाइ खाएका पर्सा जिल्लाका तत्कालीन सिडिओ दुर्गाप्रसाद भण्डारीको एक दिनको डायरी
"करिमाले 'तिमीले मलाई हेपेर पुरानो गाडी पठाएको ? मन्त्रीलाई हेप्ने तिमी को ?' भन्दै झम्टिइन् । मैले केही बोल्न नपाउँदै उनले मेरो कठालोमा समातेर चार/पाँच झापड हानिहालिन् । मेरो चस्मा फुट्यो । आँखामा सामान्य चोट पनि लाग्यो ।"
२०६६ कात्तिक २४
संस्कृतिमन्त्री मिनेन्द्र रिजाल र भौतिक योजना तथा निर्माण राज्यमन्त्री करिमा बेगम पर्सा जिल्ला आउँदै थिए । एकैदिन दुईजना मन्त्री जिल्ला आइपुग्दा सुरक्षा व्यवस्थालगायत अन्य व्यवस्थापनमा ध्यान दिनुपर्ने थियो । त्यसैले अरू दिनभन्दा अलि बढी कामको बोझ थियो । मन्त्रीहरू जिल्ला आउने भएपछि सधैँ यस्तै हुन्छ । राज्यमन्त्री करिमा बेगम आउने जानकारी अघिल्लो दिनै उनका निजी सचिवले दिएका थिए ।
त्यसदिन बिहान सधैँझैँ केही साथीसँग भेटघाट गरियो । जिल्लामा बिमानस्थल नभएकाले बाराको बिमानस्थलमा ओर्लिएर मन्त्रीहरू बारा आउनुपर्छ । पर्सा र बारा जिल्ला प्रशासन कार्यालयले समन्वय गरी भिआइपीको सुरक्षा व्यवस्था मिलाउनुपर्ने हुन्छ । मन्त्रीको सुरक्षा विषयमा बाराका प्रमुख जिल्ला अधिकारी तारानाथ गौतमसँग अघिल्लो दिन पनि कुरा भएको थियो । र, त्यस दिन बिहान पनि भयो ।
अघिल्लो दिन राज्यमन्त्री बेगमका स्वकीय सचिवले जिल्ला विकास समितिको गाडी राज्यमन्त्री बेगमलाई लिन पठाइदिनू भनेका थिए । तर, स्थानीय विकास अधिकारीले जिविसको गाडी काठमाडौँतिर लैजानुभएको थियो । मन्त्री भएपछि उहाँ जिल्ला आउँदा करिमालाई सधँै जिविसकै गाडी चाहिन्थ्यो । त्यही गाडी पठाउनू भनेर आदेश नै आउँथ्यो । छन त अर्को राम्रो गाडी पनि थियो, नारायणी सिँचाइको । तर, त्यसदिन त्यो पनि उपलब्ध थिएन । फिल्डमा लगिएको थियो । कृषि अनुसन्धान परिषद्को गाडी खाली थियो । मन्त्रीको लागि बिहान ७ बजेतिरै त्यही गाडीलाई मैले बिमानस्थल पठाएँ । त्यो मित्सुबिसी गाडी एकदम कन्डिसनमा थियो ।
बाराको सिमरा बिमानस्थलमा ९ बजेतिर नै आउने भनिए पनि प्लेन ढिलो गरी उडेकाला उहाँ दस बजे मात्रै आइपुग्नुभएछ । जिविसको गाडी नदेखेपछि रिसाउनुभएछ । म दस बजे नै अफिस पुगिसकेको थिएँ । बिमानस्थलबाटै उहाँको पिएले फोन गरेर 'जिविसको गाडी किन नपठाएको ? मन्त्रीज्यू साह्रै रिसाउनुभएको छ,' भने । गाडी पठाउन नसक्नुको कारण बताएँ मैले । तर, उनले मेरो कुरै नसुनी फोन ढ्याक्क राखिदिए । मन्त्रीको सामान्य असन्तुष्टि होला, उनलाई नै भेटेर गाडी पठाउन नसक्नुको कारण बताउँला भन्ने सोचेँ ।
तराईका जिल्लाहरूमा जनसंख्या बढी भएकाले यहाँका सिडिओ कार्यालयहरूमा जहिल्यै पनि सेवाग्राहीहरूको भीड हुन्छ । त्यसदिन पनि मेरो कार्यालयमा भीड थियो । त्यसैले म नियमित काम गर्न थालेँ । सवा एकतिर मलाई मन्त्रीले मोबाइलबाट फोन गरेर सोधिन्, 'तपाईं कहाँ हुनुहुन्छ ?' मैले 'अफिसमै छु' भनेँ । उनले 'तपाईंसँग कुरा गर्नु छ । किन थोत्रो गाडी पठाउनुभयो ? कुरा गर्न म कार्यालयमै आउँछु,' भनेर फोन काटिन् ।
मन्त्री मेरो कार्यालयमा आउने भनेपछि म उनलाई स्वागत गर्न बाहिर निस्केँ । करिब चालीस/पचासजना कार्यकर्ताको हुलसहित करिमा बेगम आइन् । मैले सोचेँ- 'मन्त्री आएपछि जिल्लास्तरका कार्यकर्ता पछि लाग्ने नै भए ।'
मैले उनलाई बाहिरै स्वागत गरेँ । त्यसपछि मेरो कार्यकक्षतिर जाऔँ भनेर भित्र लगेँ । मन्त्रीसँगै कार्यकर्ताको लस्कर पनि आयो । साढे एक बजेको थियो होला । कार्यकक्षमा पुगेर म आफ्नो कुर्सीमा बस्न पनि पाएको थिइनँ, करिमाले 'तिमीले मलाई हेपेर पुरानो गाडी पठाएको ? मन्त्रीलाई हेप्ने तिमी को ?' भन्दै झम्टिइन् । मैले केही बोल्न नपाउँदै उनले मेरो कठालोमा समातेर चार/पाँच झापड हानिहालिन् । मेरो चस्मा फुट्यो । आँखामा सामान्य चोट पनि लाग्यो । म अलिकति पछाडि हटँ । त्यसपछि पनि उनी आक्रामक भएपछि उनका कार्यकर्ताले उनलाई पक्रेर पछाडि हटाए । रक्सी पिएर बेस्कन मातेको मान्छेले जस्तो उनी मलाई झम्टिन खोजिरहेकी थिइन् ।
त्यसपछि 'तँलाई यहाँबाट तुरुन्तै सरुवा गर्दिन्छु' भन्दै कार्यकर्ताको हुलसहित उनी बाहिरिइन् । त्यतिबेला त्यस्तै पौने दुई जति भएको थियो कि । जुन गाडी पुरानो र थोत्रो भयो भनेर त्यत्रो हंगामा मच्चाउनुभएको थियो, त्यही लिएर जानुभएछ ।
जिल्लाको शान्तिसुरक्षाको जिम्मेवारी लिएर बसेको राष्ट्रसेवकमाथि जिम्मेवार मन्त्रीबाट यस्तो कुटपिट होला भन्ने त मैले सपनामा पनि सोचेको थिइनँ । करिमाले 'जिविसको गाडी किन नपठाएको ?' भनेर सोध्लिन् र जवाफ दिउँला भन्ने सोचेको थिएँ । आफ्नै कार्यकक्षमा यसरी कुटिँदा मलाई पनि कम्ति रिस उठेको थिएन । तर, मैले संयमित भएर जिम्मेवार राष्ट्रसेवकको भूमिका निर्वाह गरेँ ।
करिमा बेगम सिडिओ कार्यालयबाहिर निस्किनासाथ मैले गृहमन्त्री भीम रावललाई फोन गरेर घटनाबारेमा जानकारी गराएँ । उनले मन्त्रिपरिषद्मा कुरा लगेर कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे । जिल्लास्थित अरू सरकारी कार्यालयका प्रमुखहरूलाई पनि जानकारी गराएँ । मलाई कुटेको विरोधमा सबै कार्यालय तत्कालै बन्द भए । जिल्ला प्रशासन कार्यालयका कर्मचारीले पनि काम ठप्प पारिहाले । घटना बाहिर आएपछि पत्रकार साथीहरू घटनाबारे जानकारी लिन आए । मेरो कार्यकक्षमा पत्रकारको भीड लाग्यो । राजधानीका विभिन्न मिडिया हाउसका पत्रकारका पनि धमाधम फोन आउन थाले । कार्यालय र मेरो मोबाइलको घन्टी बजेको बजै गर्न थाले । घटनाका विषयमा बताउँदाबताउँदा म त हैरानै भएँ । तीन बजेतिर पर्साका सबै सरकारी कार्यालय र सुरक्षा निकायका प्रमुखहरू पनि आए । घटनाका विषयमा छलफल भयो । पत्रकार, कार्यालय-प्रमुख र सुरक्षानिकायका प्रमुखहरूसँग कुरा गर्दागर्दै कार्यकक्षमै ५ बज्यो । साढे एकदेखि पाँच बजेसम्मको त्यो साढे तीन घन्टालाई खै कसरी व्याख्या गर्ने ? एकातिर म कुटिनु र अपमानित हुनुको पीडाले रन्थनिएको थिएँ भने अर्कातिर, सबैले देखाएको सद्भाव र सहानुभूतिले मलाई 'म एक्लो छैन' भन्ने आभाष गराइरहेको थियो ।
पाँच बजेपछि सबै कार्यकक्षबाट बाहिर निस्किएँ । कार्यालयनजिकै क्वार्टर थियो । म अविवाहित हुँ । क्वार्टरमा सुरक्षा गार्ड र एकजना सहयोगी मात्रै थिए । फोन एकोहोरो आइरहेको थियो । सञ्चारमाध्यमलेे समाचार प्रसारण गरेपछि मेरा आफन्तका पनि फोन आउन थाले ।
क्वार्टरमा विभिन्न कार्यालयका प्रमुखहरू आउनुभयो । अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भयो । साँझ पाँच बजेभित्र पर्साका अधिकारकर्मी संघ/संस्था, कर्मचारी संगठनलगायतले घटनाको विरोध गर्दै विज्ञप्ति जारी गरिसकेका थिए । गृहमन्त्रीले पनि कारबाहीको प्रतिबद्धता व्यक्त गरिसकेका थिए । त्यसकारण, मैले केही राहतचाहिँ महसुस गरेको थिएँ ।
राज्यमन्त्री करिमा बेगमसँग औपचारिक चिनजान भएको तिथिमिति ठ्याक्कै याद छैन मलाई । २०६४ मा सुनसरीबाट सरुवा भएर पर्सा आएपछि उनीसँग बेलाबेला फोनसम्पर्क हुन्थ्यो । २०४१ सालमा निजामती सेवामा प्रवेश गरेको हुँ । चौधवटा जिल्लाको प्रजिअ भएर काम गरेँ । तर, पर्सामा जति दबाब र तनाब कहीँ झेल्नुपरेन । त्यस घटनाअघि पनि मलाई करिमाले फोनमा रुखो वचन नगरेकी होइनन् । फोन गरेर यो गरिदिनू/त्यो गरिदिनू भनेर आदेश दिइरहन्थिन् । उनीसँग तिक्तता बढेको चाहिँ भन्सार कान्डपछि हो । उनको श्रीमान् गाडीको टायरको व्यापार गर्थे । एकचोटी भन्सार छलेर अवैध रूपमा टायर ल्याउँदा प्रहरीले पक्राउ गरेको थियो । त्यसबेला मलाई करिमाले फोन गरेर उनको श्रीमान्लाई तुरुन्तै छाड्न आदेश दिएकी थिइन् । तर, मैले अस्वीकार गरिदिएँ । सायद, उनले त्यसबेलाको बदला लिएको हुनसक्छ ।
घटना भएको यतिका महिना बितिसक्यो । म अहिले काठमाडौंको कारागार व्यवस्था विभागमा छु । तर, अझै पनि त्यस घटनाको आघातबाट मुक्त हुन सकेको छैन । निर्दोष कर्मचारीमाथि व्यक्तिगत सनक पोख्ने मन्त्रीलाई कारबाही हुन्छ भन्ने सोचेको थिएँ । तर, त्यसो हुन सकेन । उल्टै, मलाई कारबाही गराउने राजनीतिक प्रपञ्च सुरु भएको छ ।
नेपाल सरकारको अनुमतिविना फौजदारी मुद्दा हाल्न नपाइने व्यवस्था छ । तर, करिमाले मविरुद्ध फौजदारी मुद्दा हालेकी छिन् । म तारेख धाइरहेको छु । गत चैतमा एकचोटी पर्सामा गएर तारेख दिएँ, वैशाखमा पनि तारेखका लागि जानु छ । कुटाइ खाने पनि मै, अनि दोषी बनाइने पनि मै ? तर, मलाई अदालतप्रति पूर्ण विश्वास छ । मैले अवश्य न्याय पाउँछु । यो देशमा कानुन हुँदो हो त करिमालाई पक्राउ गरिँदो हो । पर्सामा उनीविरुद्ध मुद्दा हालेको यतिका महिना भइसक्यो । उनी तारेखका लागि पनि गइनन् । दण्डित हुनुपर्ने मान्छे देशको मन्त्री भएर छाती फुलाउँदै हिँडिरहेकी छिन् ।
मलाई अहिले करिमा बेगमप्रति कुनै गुनासो छैन । गुनासो छ त, सरकारप्रति । मन्त्रीेले त विवेक गुमाएर एकजना राष्ट्रसेवक कर्मचारीलाई कुटिहालिन्, तर सरकारले पनि विवेक गुमायो । सरकार पनि करिमाजस्तै मूर्ख र विवेकहीन भयो ।
Source: Nayapatrika.com